दलित समुदायले उत्पादन गरेको दुध सङ्कलन नगरे कारबाही गरिने
बाग्लुङ | पुस ६, २०८०
तस्बिर फाइल
ढोरपाटन: बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दुध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेष गरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दुध उत्पादन गर्छन् । ब्राह्मण समुदायले घरबाटै दुध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दुध बिक्री गर्न पाएका छैन ।
गाउँमा दुध सङ्कलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दुध नउठाइदिने गुनासो बढिरहेको छ । सरोकारवाला निकायले नै चासो नदिँदा दुध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दुध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने राससालाई बताउनुभयो । काठेखोला गाउँपालिकामा दुध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरूको सहजगताका लागि गाउँपालिका–२ अक्षतेमा दुध सङ्कलन केन्द्र स्थापना गर्ने बताउनुभयो ।
काठेखोलाको दुध बागलुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ । “सङ्घसंस्था हुन् वा व्यक्ति कसैले पनि जातीय विभेद गरेर असामाजिक गतिविधि गर्न पाइँदैन, पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो बढेको छ”, प्रवक्ता विकले भन्नुभयो । “गाउँपालिकाले यसलाई गम्भीररूपमा लिएको छ । अब जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको छ । हरेक नागरिकको पेसा व्यवसाय गरेर बाँच्न पाउन अधिकार हुन्छ । किसानको सहजगताका लागि गाउँपालिकाले पनि अक्षते बजारमा दुध सङ्कलन केन्द्र स्थापना गर्नेछ ।”
काठेखोला गाउँपालिका(१ पालकाकी अस्मिता विकले दुध उत्पादन भए पनि बिक्री गर्न निकै समस्या भएको बताउनुभयो । हिउँदमा कम भए पनि वर्षा याममा बढी दुध उत्पादन हुने तथा त्यो खेरजाने दुखेसो गर्नुभयो । छरछिमेकीको घरको दुध बिक्री भए पनि दलित परिवारको नहुने उहाँले गुनासो पोख्नुभयो । आफूहरू अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विक बताउनुहुन्छ । सरकारले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको हो ।
त्यसयता पनि हाम्रो समाजमा छुवाछूत र जातीय विभेद कायमै छ । काठेखोला गाउँपालिका(२ भीमापोखराका चिन्तामणि विकले लामो समयदेखि दुध बिक्री नभएकामा सङ्घर्ष गर्दै आएको बताउनुभयो । गाउँमा दुध सङ्कलन र बजारसम्म पुर्याउनका लागि सहकारी स्थापना भएपनि आफूहरूलाई शेयर सदस्यसमेत बन्न नदिएको बताउनुभयो ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

